• कर्णाली प्रदेशमा पहिलोपटक मिर्गौला प्रत्यारोपण

  • सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ। बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो। 

    कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो।

    थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन्। प्रत्यारोपण कार्यमा काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमापहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए। उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको ३ महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ। 

    शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि २०७८ चैत १० गते सम्झौता गरेका थिए। केन्द्रबाट डा रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा सुमित आचार्य, डा दीपा लामिछाने र रेडियोलोजिस्ट डा समीर दवाडी संलग्न थिए।

    त्यस्तै, सुर्खेत अस्पतालबाट डा पूजन बल्ल, डा जनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसीयूमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो। 

    प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ। यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा डम्बर खड्काले जनाए। 

    प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार ११ जनाको मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। 

    ‘अब कर्णालीका बिरामीले काठमाडौं धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले १ रुपैयाँ समेत खर्च गर्नुपर्दैन,’ उनले भने, ‘यसको सेवा निरन्तर हुन्छ, तर कुनै पनि हालतमा बन्द हुँदैन।’

    मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए। ‘म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ,’ उनले भने, ‘सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे। मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ।’ अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए। रासस

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय