• पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तोकियो भन्सार विन्दु

  • काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा भन्सार विन्दु तोकिएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र तोकेको हो ।

    राजपत्रमा प्रकाशित सूचना अनुसार पोखरा महानगरपालिका वडा नं १४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ओगटेको सबै क्षेत्र र चार किल्ला भित्रको क्षेत्रलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्र घोषणा गरिएको हो ।

    सूचना अनुसार पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको क्षेत्रले भन्सार सीमाना छुट्याएको छ । पश्चिममा काजीपोखरी खहरे खोला र सो पारीको फलेपाटन भन्ने स्थानले सीमाना छुट्याएको छ ।

    उत्तरमा पृथ्वी राजमार्ग तथा हलेवी मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्रलाई छुट्याइएको छ । दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्रले सीमाना तोक्ने सूचनामा उल्लेख छ ।

    पोखरा विमानस्थल १ जनवरीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । तर, अझै अन्तर्राष्ट्रिय उडान भने सुरु भइसकेको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय