• क्यान अध्यक्ष चन्दलाई कांग्रेस महामन्त्री शर्माको फोन

    २०७९ माघ २०, शुक्रबार १५:१९ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग नेपाली क्रिकेटको पछिल्लो गतिविधिको विषयमा फोनमा कुराकानी गरेका छन्।

    चन्दसँग आफूले फोनमा कुरा गरेको शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। अध्यक्ष चन्द नेपाली कांग्रेस बैतडी सभापति समेत हुन्। 

    ‘क्यान अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छl ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् ! मौनता जिम्मेवार जवाफ हुन्न !!,’ शर्माले लेखेका छन्। 

    नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी गराएको विषयमा आफूले क्यान अध्यक्ष चन्दलाई फोन गरेको महामन्त्री शर्माले संकेत गरेका हुन्।

    लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि अहिले तीव्र आलोचना भएको छ। जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो।

    नाबालिक बलात्कार आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो। तर मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो। बिहीबार साँझ सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएको थियो।

    सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन्।

    सिफारिस
    लोकप्रिय