• मेलम्चीको पानी आजबाट काठमाडौं बासीको धारामा

  • दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १२ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुऱ्याएको थियो ।

    खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गर्नुभएपछि घर-घरमा पानी वितरण हुनेछ नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो। झन्डै तीन दशक अघि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भनी देख्नुभएको सपना अब पूरा हुनेछ। खानेपानीमन्त्री चौधरीले लामो प्रतीक्षापछि पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताउँदै भन्नुभयो, “प्रधानमन्त्री शेरबहादुर देउवाको सङ्कल्प र पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको छु।” मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको सङ्कट निकै कम हुनेछ। खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको क सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो। त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो। प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर-घरमा वितरण गर्न लागिएको हो।

    मन्त्री चौधरीले आयोजनालाई सुरक्षित र दीर्घकालीन बनाउनेबारे विस्तृत अध्ययन भइरहेको र मुहान क्षेत्रका भौतिक संरचना तथा तटीय क्षेत्रको संरक्षणका लागि विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो । गत माघ ७ गते राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । चालू आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा समेत यो विषय उल्लेख गरिएको छ। खानेपानी मन्त्रालय र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच गत माघ ७ गते सम्झौता भई त्यसको एक हप्तापछि (माघ १४ गतेदेखि) क्षतिग्रस्त आयोजनाको मर्मत रसफाइको काम सुरु भएको थियो । मन्त्रालय र कम्पनीबीच ९० दिनमा पूरा गर्नेगरी भएको सम्झौता निर्धारित समयभन्दा १५ दिनअगावै सम्पन्न भएको छ। कम्पनीले समयमै काम सम्पन्न गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरण गरी २४सै घण्टा काम थालेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय