• यी हुन् एमालेका महानगर- उपमहानगरका उम्मेदवार

  • एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बागमती प्रदेश सांसद स्थापित काठमाडौँका पूर्वमेयर पनि हुन् । स्थापितले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा काठमाडौंको मेयर जितेका थिए।

    एमाले सचिवालयको शनिबारको बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। डंगोलले यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन्। डंगोल पूर्वमिस नेवाः पनि हुन् ।
    योसँगै एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिका मेयर र उपमेयरको उम्मेदवारी पनि टुंग्याएको छ। पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मज्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ। गण्डकी प्रदेश कमिटी सदस्य पौडेल अवकाश प्राप्त शिक्षक हुन् । उपमेयरमा गुरुङलाई ने दोहोऱ्याइएको छ।
    ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था) लाई उम्मेदवार बनाएको छ । व्यञ्जनकार २०७४ को स्थानीय निर्वाचनमा चिरिबाबु महर्जनसँग झिनो मतले पराजित भएका थिए। त्यस्तै भरतपुरको मेयरमा विजय सुवेदी र वीरगन्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भरतपुर र वीरगन्जको उपमेयर भने टुंगो लगाउन बाँकी छ । वीरगन्जको उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दिने

    एमालेको तयारी छ । सचिवालय बैठकले विराटनगर महानगरको मेयर र उपमेयरको भने टुंगो लगाएन। ९ वटा उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ । इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बूलाई उम्मेदवार तोकेको छ। भण्डारी हालकी उपमेयर हुन् ।
    हेटौडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उठाउने निर्णय एमालेले गरेको छ। बुटवलको मेयरमा बाबुराम खड्का र उपमयेरमा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाएको छ। दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। चौधरी वर्तमान मेयर हुन्।

    दाङको तुलसीपुर एमालेबाट उपमहानगरपालिकाको मेयरमा टीकाराम खड्का र उपमेयरमा ज्ञानी चौधरीले टिकट पाएका छन्। नेपालगन्जको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई एमालेले उम्मेदवार बनाउने भएको छ। धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु उम्मेदवार भएका छन्। कलैयाको मेयरमा एमालेले विनोद साहलाई उठाएको छ । एमालेले जितपुर सिमरा र जनकपुरका मेयर र उपमेयर उम्मेदवार छान्न बाँकी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय