• कानुनमन्त्री बनेका मन्त्री बन्दीको के-हो व्याकराउन्ड

  • बिहीबारबाट कानुन मन्त्री बनेका गोविन्द वन्दी एमाले राजनीतिमा निकै पुराना नेतामा पर्छन् । एमालेनिकट अखिलको केन्द्रीय सदस्यसमेत भइसकेका बन्दीलाई एमालेले ०४८ सालमा नै दैलेखबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने प्रयास गरेको थियो । त्यतिबेला बन्दी अस्वीकार गरेर नेपालगञ्जमा वकालत गरेर बसेका थिए ।

    ०५४ सालमा एमाले विभाजन भएपछि नेपालगञ्जका प्रतिस्पर्धी वकिलहरू मालेमा लागे पनि बन्दी एमालेमै बसेका थिए । पहिलादेखि नै माधव नेपालसँग निकट रहेका बन्दी ०५१ सालमा नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष निर्वाचित भएको एकीकृत समाजवादीनिकट अधिवक्ता बसन्त बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार उपाध्यक्ष निर्वाचित भएपछि बन्दी काठमाडौं आएका हुन् ।

    काठमाडौ आएपछि एड्भोकेसी फोरममा आवद्ध भई बन्दीले मानवअधिकारको क्षेत्रमा काम गरेका हुन् । त्यतिबेला एमालेको वकालत लाइनमा बन्दी र अग्नि खरेलको एउटा समूह थियो भने युवराज संग्रौलाहरूको अर्को पक्ष थियो । खरेल बारको महासचिवमा बन्दीको उपाध्यक्ष कार्यकाल सकिएपछि निर्वाचित भएका हुन् ।

    एकीकृत समाजवादीनिकट कानुन व्यवसायी गोविन्द बन्दी असोज ०७८ मै कानुनमन्त्री बन्ने चर्चा थियो । त्यसका लागि सत्ता गठबन्धनमा रहेका दलहरूबीच अनौपचारिक सहमति पनि जुटेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा परमादेश जारी गराउने रिट निवेदनको मस्यौदाकार नै बन्दी थिए ।

    त्यसैले प्रधानमन्त्री देउवाको विश्वास सुरुमै जितेका थिए । संसद पुनर्स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेका बन्दीले त्यहीबीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि सम्बन्ध सुधार गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय