• भरतपुर महानगर प्रमुख कांग्रेसले नछाड्ने बरु एक्लै भिड्ने

  • नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको प्रमुख पद नछाड्ने निर्णय गरेको छ।
    कांग्रेस जिल्ला समितिको बैठकले महानगरपालिकाको प्रमुख पदमा कांग्रेसले दाबी नछाड्ने निर्णय गरेको हो।

    जिल्ला सभापति राजेश्वर खनालले नेपाली कांग्रेसले मेयर पद नपाउने अवस्थामा एकल निर्वाचनमा जानुपर्ने निर्णय जिल्ला समितिले गरेको बताए।

    केही दिनअघि मात्रै भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको मेयरमा पार्टीको दाबी रहने बताएका थिए। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले माओवादीकी उम्मेद्वार रेनु दाहाललाई समर्थन गरेको थियो।

    दाहालले नेकपा एमालेका उम्मेदवार देवि ज्ञवालीलाई हराएकी थिइन्। त्यतिखेर मेयर पदमा उम्मेद्वारी दर्ता गरिसकेका दिनेश कोइरालालाई फिर्ता गरेर नेपाली कांग्रेसले केन्द्रबाटै माओवादीसँग तालमेल गरेको थियो।

    दाहालले यसपाली पनि सत्तारूढ गठबन्धनको बैठकले महानगरपालिकामा तालमेलको निर्णय गर्ने दाबी गरेका थिए। माओवादी पार्टी पुनः एक पटक रेनु दाहाललाई नै भरतपुरको मेयरमा दोहोर्‍याउनुपर्ने पक्षमा छ।

    चितवनका कांग्रेस कार्यकर्ताहरूले भने आगामी निर्वाचनमा रूखमा भोट हाल्न पाउनुपर्ने भन्दै नेतालाई दबाब दिँदै आएका छन्।

    कांग्रेसका महामन्त्री गगन थापाले केही हप्ता पहिले भरतपुरमा भएको एक कार्यक्रममा कार्यकर्ताहरूले रूखमै भोट हाल्न पाउनुपर्ने भनेर राखेको आकांक्षाको पार्टीले सम्मान गर्ने बताएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय