• अब छैन जोर-विजोर, १ गतेदेखि स्कुल पनि खुला

  • काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली हटेको छ ।
    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।

    जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्नेसमेत प्रशासनले जारी गरेको सूचनामा लेखिएको छ।

    कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो। तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।

    सपिङ मल, डिपार्टमेन्ट स्टोर, स्टोर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।

    यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ। तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय