• अर्घखाची पुगेर गगन भन्छन् : निर्वाचनपछिको ५ वर्ष कांग्रेसको सरकार

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने बताएका छन् । कम्युनिष्टहरुले विविधतायुक्त नेपाली समाजको गलत विश्लेषण र प्रोपोगाण्डा गरेर कहिले जात, कहिले धर्म र कहिले राष्ट्रियताको नाममा देश विकासको गति अवरुद्ध गरेको भन्दै अब बहुमतको कदर कसरी गर्ने कांग्रेसले सिकाउने बताए ।
    अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको प्रतिवद्धता छ ।

    थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताए ।
    गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ ।
    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको बताए ।

    ‘२०६४ मा माओवादी ठूलो दल हुँदा पनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्’ थापाले भने ‘ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय