• अनि मनाउन थाल्यो राष्ट्रिय मेलमिलाप दिवस

  • हरेक वर्ष विभिन्न कार्यक्रमसहित पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइने गरेको छ ।
    मेलमिलाप दिवस पञ्चायती निरङ्कुशतामा आठ वर्षको भारत निर्वासित जीवन त्याग गरी कांग्रेसका संस्थापक जननायक बिपी कोइरालासहित लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका दर्जनौँ नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएकाे सन्दर्भमा मनाउन थालिएको हो। मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उहाँहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए।

    नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

    प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने बिपीको प्रष्ट भनाइले तत्कालीन अवस्थामा मुलुकको राष्ट्रियता कति सङ्कटमा थियो भन्ने प्रष्ट हुन्छ । राष्ट्रियताका सन्दर्भमा स्वदेश फर्केपछि राजासँगको भेटमा बिपीले भनेका थिए, `यो मुलुक रहेन भने म विराटनगरमा खेती गरेर बसौँला तर तपाईं कहाँको राजा बन्नुहुन्छ ?´ नभन्दै त्यतिबेला दक्षिण एशियाकै राजनीतिमा निकै उतारचढाव थियो।

    त्यस राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै उनले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति राजनीतिक दल र राजशक्ति राजा मिल्नुपर्ने धारणा राखेका थिए ।

    विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकार बर्खास्त गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन नेतामाथि देशद्रोहको मुद्दासमेत लगाए। निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइराला सहितका नेतालाई करिब आठ वर्ष जेलमा हालिएको थियो।

    राष्ट्रिय-अन्तर्राष्ट्रिय दबाबका कारण २०२५ कात्तिक १४ गते बिपी कोइरालालगायतका नेता जेलमुक्त भएर त्यसपछि उनीहरू भारतमा निर्वासनमा गए। त्यसपछि कांग्रेसले सशस्त्र विद्रोहको नीति अपनायो तर त्यो विद्रोह खासै उपलब्धिमूलक हुन सकेन, बरु पार्टीका केही नेताहरूको ज्यान गयो।

    यसबीचमा देशका विभिन्न स्थानमा भएका घटनामा संलग्नता रहेको भन्दै तत्कालीन राज्यसत्ताबाट बिपी सहितका नेताहरूलाई फाँसीको सजाय हुन सक्नेसम्मका विभिन्न आठ मुद्दा लगाइएको थियो।

    मुलुकको विषम परिस्थितिलाई बुझेर नै बिपीले आफ्नो ज्यानभन्दा देश ठूलो हो भन्ने महसुस गरी राष्ट्र बचाउन र मुलुकमा प्रजातन्त्रको पुनःस्थापना गर्न २०३३ सालमा मेलमिलापको नीति घोषणा गर्दै नेपाल फर्किए। बिपीले मेलमिलापको नीति अवलम्बन गर्ने क्रममा भनेका थिए, “आजसम्म हामीले प्रजातन्त्रको लडाईं गरिरहेका थियौँ।”

    बिपीको त्यो ऐतिहासिक निर्णय र तत्कालीन राष्ट्रिय आवश्यकतालाई नबुझी राजासँग बिपीको सहकार्यको प्रस्तावलाई लत्याउँदै उनीहरूलाई पक्रेर सुन्दरीजलस्थित बन्दीगृहमा राखियो। बिपीले सोही जेलबाट ती मुद्दाको पुर्पक्ष गरेका थिएश्र्नु। बिपीले ती मुद्दामा सर्वोच्च अदालतमा बयान दिँदा पनि भनेका थिए, “कानुनको साँघुरो किल्लामा न्यायको हत्या नहोस्।”

    बिपीको राष्ट्रियताप्रतिको संवेदनशीलता र प्रजातन्त्रप्रतिको प्रतिबद्धतालाई तत्कालीन राज्यसत्ताले बुझ्न नसक्दा नै २०३६ सालमा विद्यार्थी आन्दोलन हुन पुग्यो र अन्ततः तत्कालीन राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य हुनुपरेको गियो ।

    जनमत सङ्ग्रहमा बहुदलीय पक्षलाई पराजित गराइए पनि प्रजातान्त्रिक आन्दोलनले फस्टाउने मौका पायो र २०४२ सालमा सत्याग्रह हुँदै २०४६ सालमा जनआन्दोलन भई बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएको हो ।

    यसरी प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका बिपी कोइरालाको मेलमिलापको नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको देखिन्छ। बिपीको स्वदेश फिर्ताको निर्णयले तत्कालीन पञ्चायतलाई भित्रबाटै कमजोर बनाउन सहयोग पुगेको थियो।

    अन्य देशमा बसेर हतियारको राजनीति गर्नु गलत रहेछ तथा राष्ट्र र जनतालाई एकीकृत गर्न देशभित्रै रहेर सङ्घर्ष गर्नुपर्छ भन्ने बिपीको सोचले राजा र जनताबीचको शक्ति सन्तुलनलाई पनि जोड दिएको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालकाे भनाइ छ।

    सिफारिस