• देउवाकाे दाेस्राे इनिङमा यस्ताे बन्याे कांग्रेसकाे नयाँ नेतृत्व (सूचीसहित)

  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया टुंगिएको छ । मंसिर २४ गते सुरु भएको महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।

    सभापति चयनका लागि मंसिर २८ मा भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइराला निकटतम प्रतिस्पर्धीका रुपमा रहे ।

    त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महाधिवेशनबाट सहमहामन्त्रीमा क्रमश: किशोरसिंह राठौंर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय, जीवन परियार, बद्री पाण्डे, उमाकान्त चौधरी र भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् ।

    महाधिवेशनले पदाधिकारी बाहेक १ सय २१ जना केन्द्रीय सदस्यपनि निर्वाचनबाटै चयन गरेको छ । प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिले आज सबै पदको मतगणना सकिएको जनाएको छ ।

    मतगणनाको परिणामअनुसार केन्द्रीय समितिमा सभापति देउवा पक्षको दुई तिहाई बढी वर्चस्व कायम भएको छ । १३ जना पदाधिकारीमध्ये देउवासहित ८ जना संस्थापन पक्षका छन् । कोइराला पक्षबाट ४ जना पदाधिकारी निर्वाचित भएका छन् भने प्रकाशमान सिंह पक्षबाट १ जना पदाधिकारी निर्वाचित भएका छन् ।

    केन्द्रीय सदस्यतर्फ डा.शशाकं कोइराला, राजेन्द्रकुमार केसी (राजन) र मुक्ताकुमारी यादव एकभन्दा बढी प्यानलबाट निर्वाचित भए ।

    कोइराला सबै प्यानलमा थिए भने केसी शेखर र प्रकाशमान दुवैको प्यानलमा थिए । यादव देउवा, कोइराला र निधिको प्यानलमा थिइन् । यी तीनबाहेक १ सय २१ केन्द्रीय सदस्यमध्ये देउवा प्यानलबाट १ सय १ जना निर्वाचित भएका छन् ।

    कोइराला प्यानलबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कोइराला प्यानलबाट खुल्लामा ९ जनाबाहेक महिला, प्रदेश १, गण्डकी प्रदेश, दलित खुला, मधेशी खुला, जनजाति खुला, खस आर्य पुरुष र खस आर्य महिलातर्फ १–१ जना केन्द्रीय सदस्य निर्वाचित भए ।

    केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । सभापति देउवा शनिबार नै केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारीमा छन् ।

    कांग्रेस विधान अनुसार सभापतिका निकटतम प्रतिस्पर्धी रहेका डा.शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनेछन् । त्यस्तै सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने वैधानिक व्यवस्था छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय