• माओवादी प्रदेश १काे अध्यक्षमा अर्थमन्त्री शर्माका स्वकीय सचिव नेम्वाङ निर्वाचित

  • विराटनगर – नेकपा माओवादी केन्द्र १ कमिटीको अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेम्वाङ (मिक्सो) अध्यक्षमा निर्वाचित एका हुन् । प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीकाअनुसार अध्यक्ष नेम्वाङले १६९ मत प्राप्त गरेका छन् । नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

    त्यस्तै अध्यक्षका प्रत्यासी मुक्साहाङ सुब्बा लिम्बु (मुकेश) ले ६४ मत प्राप्त गरी पराजित भए। लिम्बु पूर्व अर्थमन्त्री बर्षमान पुन निकट हुन् । तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भएका छन् । चाम्लिङले १२०, डाँगीले ११३ र साम्पाङले १११ मत प्राप्त गरेका हुन् । उपाध्यक्षमा पहिलो संविधान सभाका सदस्य समेत रहेका मोहन बहादुर खत्री भने पराजित भएका छन् । उनले ८६ मत प्राप्त गरेर पाँचौं स्थानमा सिमित भएका छन् ।


    सचिवमा गणेश उप्रेति निर्वाचित भएका हुन् । उनले १४८ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार सीपी कडरियाले ८३ मत ल्याएर पराजित भएका हुन् । त्यसैगरी १३ जनाबीच प्रतिष्पर्धा भएको तीन सहसचिव पदमा कुमारी राई (रचना) ११४, ऋषिराम ढुंगानाले ९५ र सागर किराँती ७३ मत प्राप्त गरी विजयी भएका छन् ।

    निर्वाचन समितिका कोषाध्यक्षमा रेवत राज पुरीले ९३ मत प्राप्त गरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा चारजनाबीच प्रतिष्पर्धा भएको थियो । नेतृत्व व्यवस्थापनमा गरिएको सहमतिको प्रयास असफल भएपछि प्रदेश कमिटिका सदस्य निर्वाचित भएको एक सातापछि नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी चयनको प्रक्रिया निर्वाचनबाट टुंगिएको हो । माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मङ्सिर २५ गते मोरङको विराटचोकमा उद्घाटन भएको थियो ।

    अधिवेशनको बन्दशत्रले मंसिर २८ गते २५९ जनाको प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । पदाधिकारी समेत सर्वसम्मत चयन गर्ने भन्दै कार्यसमिति चयनका क्रममा नेतृत्वले दबाब दिएर त्यतिबेला सर्वसम्मत गराएको थियो । तर पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास असफल भएपछि निर्वाचनबाट टुंगिएको हो ।

    निर्वाचनमा प्रदेश कमिटीका २५९ सदस्यहरूले मतदान गर्न पाउने उक्त निर्वाचनमा २४० मत खसेको थियो । पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन् । ९ पदाधिकारीका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा महिला उम्मेदवार ४ जना थिए । निर्वाचित पदाधिकारीलाई माओवादी केन्द्र प्रदेश १ का इन्चार्ज राम कार्कीले बिहीबार बिहान सपथ ग्रहण गराएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय