• ढिला आएको भन्दै विद्यालयबाट फर्काइएकी छात्राले गरिन् आत्महत्या

  • काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चित्रेकी बिमला बोगटी सोमबार अलि ढिला विद्यालय पुगिन् । उनीजस्तै १२ जना विद्यार्थी विद्यालय पुग्न ढिला भएका थिए ।

    चित्रेस्थित बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत बिमला विद्यालय पुग्दा साढे १० बजेको थियो । उनीसहित ढिला आउने १२ जना विद्यार्थीलाई गेटमा बसेका कर्मचारीले रोके । ढिला आउनाको कारण सोधियो । सबैले एउटा–एउटा बहाना गरेर फुत्किए । तर, बिमलाले कुनै जवाफ दिन सकिनन् । र, उनलाई गाली गर्दै गेटबाट घर फर्काइयो ।

    रुँदै घर फर्किएकी बिमला अब कहिल्यै विद्यालय आउने छैनन् । उनले विष सेवन गरेर आत्महत्या गरेकी छन् ।

    आफूलाई मात्रै विद्यालय छिर्न नदिएको भन्दै निकै दु:खी बनेर घर पुगेकी थिइन् बिमला । घरभित्रै उनले विषसेवन गरिन् । परिवारले थाहा पाएर अस्पताल लगे पनि उनको ज्यान बच्न सकेन ।

    विद्यालयमा सरले गाली गरेकाले विष खाएको विमलाले आफ्नो बुवालाई बताएकी थिइन् । उनलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएको थियो । उपचारको क्रममा बिमलाको मंगलबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नवराज केसीले जानकारी दिए ।

    गाउँपालिका अध्यक्ष केसीका अनुसार समयमै विद्यालय नआउने विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले थर्काएका थिए ।

    अध्यक्षले ढिला आएको विषयमा अभिभावकलाई बोलाएर कम्प्लेन गर्ने भन्दै विद्यार्थीलाई तर्साएको केसीले बताए । बुढाथोकीले प्रधानध्यापकदेखि शिक्षक–शिक्षिकाहरु कसैलाई पनि राम्रो व्यवहार नगर्ने विद्यालय स्रोतको दावी छ ।

    चम्पादेवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर तामाङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले सामुदायिक विद्यालयको पढाइ सुधारको लागि सबैलाई समयमा विद्यालय आउन र पढाइप्रति केन्द्रित हुन भन्दै चेतावनी दिइएको बताए । तामाङका अनुसार अध्यक्ष बुढाथोकी विद्यालय सुधारको लागि २४ सै घण्टा विद्यालयमा नै खटिन्थे ।

    अध्यक्ष बुढाथोकीलाई गाउँपालिकाले पनि सोधपुछको लागि बोलाएको थियो । सोधपुछमा उनले बिमलालाई स्कुल किन सँधै ढिला आएको भनेर गाली मात्रै गरेको बताएका छन् ।

    १६ वर्षिया विमलाको परिवारमा आमाबुबा, दिदीबहिनी र भाइ छन् । घटनाको अनुसन्धानको लागि प्रहरीले विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा लगेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय