• स्थानीय तहको निर्वाचन २० वैशाखमा गर्ने प्रस्ताव

  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो ।

    प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

    ‘देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि म्याद थपको व्यवस्था छैन, त्यसकारण जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै आयोगले स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गरिरहेको छ,’ काभ्रेको धुलिखेलमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले भने ।

    त्यसका लागि आयोगले छिट्टै नै सरकारसँग परामर्श गर्नेसमेत उनले जानकारी दिए । यसअघि भने आयोगले सरकारसँग स्थानीय तहको निर्वाचनका लागि ५ चैतको मिति प्रस्ताव गरेको थियो ।

    स्थानीय तहको निर्वाचन कानुनमा केही विवाद र जटिलतासमेत छ । यस्तै, संविधान र कानुनमा म्याद थपको व्यवस्थासमेत राखिएको छैन ।

    गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैंगिकता तथा समावेशिता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय