• कांग्रेस प्रदेश २ मा आज निर्वाचन : देउवा र कोइराला-निधि प्यानलबीच प्रतिस्पर्धा

  • काठमाडाैँ । नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आज प्रदेश अधिवेशनअन्तर्गत मतदान हुने भएको छ।

    प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।

    केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका निधि प्रदेश २ मा भने कोइरालासँग मिलेका छन्।

    कोइराला-निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।

    रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्।

    महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्।

    कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिए भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

    सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिए भने रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्। प्रदेशमा करिब २ हजार मतदाता छन्।प्रदेश अधिवेशनका लागि देउवा र कोइराला पक्षका केन्द्रीय नेता तथा निधिसहित नेताहरू जनकपुरधाममा छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय