• प्रमुख दलका नेताले नै जान्दैनन् भाेट हाल्न, कांग्रेस महाधिवेशनमा चार प्रतिशत मत बदर !

  • काठमाडाैँ । प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ .।

    प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।

    केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले समेत शक्ति प्रयोग गर्ने भएकाले पनि थाहा हुन्छ कि उनीहरु परिपक्व नेता हुन् भनेर ।

    कतिपय महाधिवेशन प्रतिनिधिहरु त आफ्नो निर्वाचन क्षेत्रका झन्डै दुई हजार क्षेत्रीय प्रतिनिधिबाट चुनिएर आएका थिए । महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु पनि आ–आफ्नो वडाबाट ठूलो मिहिनेतका साथ निर्वाचित भएर आएका हुन्छन् ।

    कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ जनाको मतपरिणाम सार्वजनिक गर्ने क्रममा करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ । कुल खसेको ४ हजार ७ सय ५ मतमध्ये १ सय ८१ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा ७६ र दोस्रो चरणमा भएको निर्वाचनमा ३५ मत बदर भएको छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय