• सर्वदलीय बैठक अघि गठबन्धनको छलफल

  • काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्ने भएको छ।  संसद् बैठकमा एमालेले निरन्तर जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको हो। 

    बैठकमा आउन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका भए पनि एमालेले भने शनिबारै आफू नआउने बताइसकेको छ। 

    एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाका हरेक बैठकमा अवरोध र विरोध गरिरहेको छ।

    स्रोतका अनुसार एमालेको अवरोधकै कारण केही महत्त्वपूर्ण विधेयक र अध्यादेश संसदमा पेस हुन पाएको छैन। यसैगरी एमसीसीको विषय पनि संसदमा टेबल हुन पाएको छैन।

    ‘आइतबारको मुख्य कुरा भनेकै अवरुद्ध संसद् खुलाउने हो, त्यो खुले एमसीसीलगायतका विषयमा छलफल गर्न सकिन्छ’, स्रोतले थप्यो। 

    यसैबीच सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका पाँच दलबीच छलफल हुने भएको छ। गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सम्भवतः दिउँसो १ बजेतिर बस्ने स्रोतले जानकारी दिएको छ। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय