• कांग्रेसका परम्परागत गुट पूरै अस्तव्यस्त

  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेस भित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ ।

    १३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एक अर्कामा समाहित हुने क्रम पनि जारी छ । 

    कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा समूहबाट अलग भएर उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने भएका छन् भने संस्थापनइतरका रामचन्द्र पौडेल समूह विभाजित भएर आधा दर्जन पुगेको छ । 

    महाधिवेशनको रौनकमा अप्ठयारोमा परेको पौडेल समूहबाट अलग भएर प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र कल्याण गुरुङका समूह देखापरेका छन् । पौडेल समूहमा देखापरेको विभाजनका कारण स्वयं पौडेल र शशांकले सभापतिको मैदान छाडेको घोषणा गरिसकेका छन् ।

    पौडेल र शशांकले मैदान छाडे पनि प्रकाशमान र शेखर भने सभापतिको दौडमा छन् । विगतमा पौडेल समूहमा रहेका गुरुङले सभापतिको उम्मेदवारी दर्ता गराइसकेका छन् भने प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवारी बनाउँदै प्रारम्भिक टिम घोषणा गरेका छन् ।

    उता, शेखरले मिनेन्द्र रिजाल र गगन थापालाई महामन्त्री उम्मेदवारको रुपमा भित्र्याएर नयाँ तरंग पैदा गरेका छन् । विगतमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थापा १४औं महाधिवेशनमा शेखरको टिममा जोडिएका छन् ।

    थापाले छाडेका सिटौला भने सभापति देउवाको टिमतर्फ जोडिन पुगेका छन् । प्रदिप पौडेललाई महामन्त्री तथा शिव हुमगार्इं र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राख्दै सिटौला देउवानिकट पुगेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय