• कांग्रेसको नयाँ नेतृत्व चुन्न आजबाट निर्वाचन प्रक्रिया सुरु, उम्मेदवारी मनाेनयन हुँदै

  • काठमाडौं । काठमाडौंमा शुक्रबार सुरु नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज शनिबार आगामी कार्यकालका लागि पार्टीको नेतृत्वमा रहन चाहनेहरूले उम्मेदवारी दर्ता गर्दै छन्। 

    शुक्रबार दिउँसो भृकुटीमण्डपमा उद्घाटन समारोहपछि त्यही साँझ बन्दसत्र सुरु गरिएको कांग्रेस महाधिवेशनअन्तर्गत आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो। 

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ। 

    यस्तै भोलि आइतबार दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

    मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान केन्द्र बनाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। 

    उनका अनुसार मतदान ‘ब्यालेट पेपर’ मा हुनेछ। कांग्रेसले ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ (ईभीएम) प्रयोगका लागि पहल गरे पनि शीर्ष नेताबीचमा सहमति नजुटेपछि ‘ब्यालेट पेपर’ नै प्रयोग गरिन लागिएको कांग्रेस स्रोतले जनाएको छ। 

    महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन गर्नेछ। यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस-आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी सहमहामन्त्री आठ सहमहामन्त्री पनि चयन गर्नेछ। 

    केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ। 

    केन्द्रीय महाधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष  चुन्नेछन्। 

    यस्तै दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिनेछन्।​​

    अल्पसङ्ख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट निर्वाचित हुने छन्। 

    कांग्रेसको विधानमा सभापतिले केन्द्रीय कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय