• कांग्रेस महाधिवेशन : उद्घाटन समय हुनै लाग्याे, उम्मेदवारकाे टुंगाे नै लागेन

  • काठमाडाैँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४औं महाधिवेशन सुरु हुँदै छ। काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ। 

    तर यो खबर लेख्दासम्म पनि कांग्रेसका नेताहरूले पार्टी प्रमुख (सभापति) कै उम्मेदवारी निश्चित गर्न सकेका छैनन्। साथै अन्य पदाधिकारीमा उठ्ने उम्मेदवार तोक्न पनि बाँकी नै छ। 

    संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन्। यस्तै अन्य पदाधिकारीमा पनि धेरै जना आकांक्षी देखिएका छन्। 

    संस्थापनइतर समूहले पनि सभापति पदमा एउटै उम्मेदवार तोक्न सकेको छैन। पदाधिकारी उम्मेदवारीमा सहमति गर्न भनेर बिहीबार सभापति देउवाले राखेको कांग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरू सहभागी नभएपछि त्यसबारे निर्णय हुन सकेन। 

    उता पौडेल पक्षमा पनि प्रकाशमान सिंह र डा। शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने अडान लिइरहेका छन्।  सिंहका सहयोगी यूपी लामिछानेका अनुसार नेता सिंहले आज उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। 

    कोइराला र सिंहबीच सहमति भए आफू पछि हट्ने बताइरहेका वरिष्ठ नेता पौडेल उनीहरू दुवै सभापतिमा उठ्ने अडानमा रहेपछि अप्ठेरोमा परेका छन्। 

    यसरी पौडेल पक्षमा फाटो देखिएको अवस्थाको उपयोग गर्दै सभापति देउवा भने पुनः पार्टीको नेतृत्व हत्याउने रणनीतिमा लागेका छन्। उम्मेदवारीका विषयमा अहिलेसम्म निर्णय नदिएको कृष्ण सिटौला पक्षलाई समेटेर देउवा सभापति पदमा विजयी हुने दाउमा छन्। 

    सिटौला समूहले बिहीबार आफ्नो भेला गरे पनि महाधिवेशनमा कता लाग्ने भन्ने स्पष्ट पारेन। बरु नेता सिटौलाले भोलि शनिबार उम्मेदवारी दर्ता हुनुअघि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताए। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय