• कांग्रेस महाधिवेशनः देउवाले बोलाए आफ्नो टिमको भेला

  • काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गर्ने भएका छन् ।

    महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् ।

    ‘साथीहरुसँगको छलफलका लागि सभापतिज्यूले बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बोलाउनु भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।

    देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए । देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन ।

    पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ ।

    कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ । देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय