• के हो ‘ओमिक्रोन’ भेरियन्ट ? कसरी बच्ने ?

  • काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको हो ।

    मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

    गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरुल नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

    तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको हो ।

    त्यस्तै हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको हो ।

    ओमिक्रोन कसरी पहिचना भयो ?
    कोरोना भाइरसको नयाँ भेरियन्ट उत्परिवर्तन ओमिक्रोन भाइरसको २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पहिलोपटक पहिचना भएको थियो । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुनेभन्नेबारे स्पष्ट भइसकेको छैन ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।’

    सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरे । उनले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरेका छन् ।

    ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिए ।

    भारतमा ओमिक्रोनको संक्रमण पाँच गुनाले बढ्यो
    भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण एकैदिन एक्कासी पाँच गुनाले बढेको छ । आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेको समाचार एजेन्सी एएनआइले जनाएको छ । अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या ४ बाट २१ पुगेको छ । नयाँ भेरिअन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलहरूदेखि लिएर अन्य यातायात केन्द्रहरूमा परीक्षण तथा स्क्रीनिङ् तेज पारिरहेका छन् ।

    कुन्-कुन् देशमा फैलिइसक्यो ?
    यो भेरियन्ट अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट संक्रमण पुष्टि भइसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय भएको भन्दै सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने पनि बताइएको छ । डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दा पनि सङ्क्रामक भएको बताएकी छन् ।

    स्वास्थ्य मन्त्री विरोध खतिवडाले कस्ता व्यक्तिलाई दिने र कहाँबाट शुरू गर्ने भन्नेबारे मन्त्रालयले एउटा संयन्त्र बनाएर तयारी सकेलगत्तै बुस्टर मात्रा दिन शुरू गरिने बताएका छन् । नेपालमा हालसम्म पूर्ण मात्रा खोप लगाएकाहरू कूल जनसङ्ख्याको २८ प्रतिशत मात्र छन् ।

    यो भेरियन्टबाट कसरी बच्ने ?
    ओमिक्रोन भेरियन्टको स्पाइक प्रोटिनमा डेल्टा भेरियन्टभन्दा दुई गुणा बढी म्युटेसन भएको इटालियन वैज्ञानिकहरूले पुष्टि गरेका छन् । तर, यसकै कारण डेल्टाभन्दा बढी संक्रामक हुन्छ भन्ने प्रमाणित भने नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताएका छन् ।

    डा. पुनका अनुसार ओमिक्रोन भेरियन्ट कस्तो हुन्छ ? भन्ने अहिले जानकारी छैन । तर, कोरोनाका नयाँ–नयाँ भेरियन्टहरूमा विशेषगरी स्पाइक प्रोटिनमा निरन्तर परिवर्तन हुँदै गए खोपको प्रभावकारिता खस्किँदै जान सक्नेछ । ओमिक्रोन भेरियन्टबाट जोगिन अहिलेसम्म हामिले अपनाउँदै आइरहेको जनस्वास्थका मापदण्ड सही तरिकाले प्रयोग गर्न सके पूग्ने डा. पुनको भनाइ छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय