• आजबाट सर्वोच्च अदालतका न्यायाधीशले इजालस र मुद्दा रोज्न तान्नेछन् चिठ्ठा

  • काठमाडाैँ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित फूलकोर्टको निर्णयानुसार सर्वोच्चमा आज (१५ मंसिर)देखि गोला प्रथामार्फत पेसी तोकिँदैछ । अहिलेसम्म प्रधानन्यायाधीशले तजबिजी अधिकारअनुसार मुद्दाको पेसी तोक्ने अभ्यास थियो । 

    तजबिजीका आधारमा पेसी तोक्दा प्रधानन्यायाधीशले अनियमितता गर्ने गरेको आरोप लाग्दै आएको छ । यही कारण सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित न्यायालय सुधार अध्ययन समितिले गोला प्रक्रियाद्वारा इजलास तोक्न सिफारिस गरेको थियो ।

    उक्त समितिको सिफारिस लागू नभएको, भ्रष्टाचार बढेको, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारमा भागबन्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएसन् आन्दोलित छन् । बारले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोध प्रदर्शन जारी राख्ने बताएको छ भने गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू इजलासमा फर्कने तर प्रधानन्यायाधीश जबरासँग इजलास साझेदारी नगर्ने बताएका छन् । 

    सर्वोच्च अदालत नियमावली संशोधन भएर ६ मंसिरमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका–२०७८ राजपत्रमा प्रकाशित भएको थियो । कार्यविधिअनुसार आजदेखि पेसी गोला प्रक्रियाद्वारा तानिँदैछ । 

    कसरी तानिन्छ गोला ? 

    कार्यविधिअनुसार इजलास र मुद्दाका लागि छुट्टाछुट्टै गोलाको व्यवस्था छ । ती गोलालाई अपारदर्शी थैलोमा राखिने र प्रधानन्यायाधीशपछि वरिष्ठताका आधारमा पालैपालो अन्य न्यायाधीशहरूले तान्ने छन् । न्यायाधीशले तानेको गोलाको रेकर्ड कम्प्युटर र सीसी क्यामेरामा सुरक्षित राखिनेछ । बृहत पूर्ण वा पूर्ण इजलास, एकल र संयुक्त इजलासका लागि छुट्टाछुट्टै गोला र थैली हुनेछन् ।

    बृहत पूर्ण वा पूर्ण इजलासका लागि अदालतमा उपस्थित न्यायाधीशको संख्या बराबरका गोटी थैलीमा राखिनेछ । बृहत पूर्ण वा पूर्ण इजलासका लागि तोकिएका गोलामा ‘१’, ‘२’ अंक लेखिएको हुनेछ । एकल इजलासका लागि बनाइने गोलामा ‘अ’, ‘आ’ लेखिएको हुनेछ । बृहत पूर्ण र एकल इजलास गठन भइसकेपछि मात्र संयुक्त इजलासका लागि गोला तान्नुपर्नेछ । संयुक्त इजलासका लागि इजलासको संख्या अनुसारका संकेत भएका गोटी राखिनेछ । 

    गोला तानेर इजलास गठन भइसकेपछि न्यायाधीशले मुद्दाका गोला तान्ने छन् । मुद्दाका लागि ‘क’, ‘ख’ अंकित गोला बनाइनेछ ।
    हेर्दाहेर्दै र निर्णय सुनुवाइको मुद्दामा पनि गोला तानिनेछ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय