• आजदेखि एमालेको महाधिवेशन चितवनमा, को-को सहभागी हुँदैछन्?

  • नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ।

    मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन स्थल र चितवनका सडक झन्डा तथा प्रचार राखेर सजाइएका छन्।

    एमालेले महाधिवेशनमा लाखौं नेता/कार्यकर्ता उतार्ने तयारी गरेको छ।

    महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि एमालेले अरू पार्टीलाई पनि निम्तो दिएको छ।

    एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई एमालेले महाधिवेशनमा बोलाएको छैन। त्यसैले एमाले महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सर्वोच्च नेता झलनाथ खनाल देखिने छैनन्। नेपाल र खनाल दुबैले विगतमा एमाले नेतृत्व गरेका थिए। 

    एमालेले देशभित्र र बाहिरका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि बोलाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले भने एमाले महाधिवेशनमा भिडिओ सन्देश पठाउने भएको छ। भारतलगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको एमालेले जनाएको छ।

    प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जाने भएका छन्। उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम छ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन्। 

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न जाने भएका छन्।

    महाधिवेशनका लागि एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताहरू चितवन पुगिसकेका छन्। आज महाधिवेशन उद्घाटन गर्ने र शनिबारदेखि सौराहमा बन्द सत्र तथा उम्मेदवारी मनोनयनलगायतका कामहरू हुनेछन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय