• प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

  • काठमाडाैँ । प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (मंगलबार) विश्वासको मत लिँदै छन्। प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराइसकाले आज बस्ने प्रदेशसभा बैठकमा त्यसमा छलफल हुनेछ। 

    यसअघिका मुख्यमन्त्री एमाले नेता भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई यही कात्तिक १६ गते प्रदेश १ को सरकारको नेतृत्वमा पुगेका हुन्।  

    राईले विश्वासको मत लिएपछि मात्र गठबन्धनको सहमतिमा प्रदेशको मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन्। 

    उनी पाँचदलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका हुन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले उनलाई समर्थन गरेका हुन्। 

    यस्तो छ अंक गणित
    प्रदेश १ को प्रदेशसभामा हाल कायम सदस्य संख्या ९२ हो। बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

    पाँच दलीय सत्ता गठबन्धनसँग ५० सांसद छन्।  गठबन्धनमा रहेका कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्। 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग  ४१ जना सांसद छन्। यसमा पनि एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने अवस्था छ। 

     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय