• महंगीले आकाश छोयो, जनताको चुल्हो बल्नै सकस, सरकार किन मौन ?

  • काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ ।

    दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ ।

    ‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–बेलुकी खुवाउनसमेत सकिरहेको छैन,’ फुलमाया भन्छिन्, ‘चिन्तैचिन्ताले राति निन्द्रा पनि लाग्दैन । महँगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो ।’

    अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा फुलमायाको भन्दा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् ।

    दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’

    अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ ।

    दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडा प्रतिकेजी १ सय २०, बोडी १ सय ४०, घिउ मिसी १ सय २०, चमसुर साग १ सय ५०, भिन्डी १ सय १०, ब्रोकाउली १ सय २०, प्याज ७०, परवर सय र पालुंगो साग १ सय ५० रुपैयाँ छ ।

    दैनिक उपभोग्यमा चामल, आटा र मैदाबाहेक कुनै पनि वस्तु सयभन्दा कममा पाइँदैन । चिनी, गेंडागुडीमा आटा, मैदालगायत गत दसैंयता प्रतिकेजी ५ देखि १० रुपैयाँ वृद्धि भएको खुद्रा व्यवसायी संघ नेपालले जनाएको छ ।

    प्रतिदिन मूल्य अकासिँदै गर्दा सरकार मौन बसिरहेको सर्वसाधारणको गुनासो छ । बजार अनुगमन नियमक निकायसमेत ‘बजार मूल्य के कारण वृद्धि भएको हो ?’ भन्ने बुझ्न अनुगमनमा निस्केको पाइएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय