• गोल वर्षा गर्दै फ्रान्स विश्वकपमा छनोट, एम्बाप्पेले मात्रै गरे ह्याट्रिकसहित चार गोल

  • काठमाडाैँ । केलियन एम्बाप्पेको ह्याट्रिकसहित चार तथा करिम बेन्जेमाको दुई गोलको सहयोगमा फ्रान्सले काजकस्तानमाथि ८-० को सानदार जित निकाल्दै कतारमा आयोजना हुने विश्वकपमा छनोटमा भएको छ।

    शनिबार राति युरोपेली छनोट अन्तर्गत घरेलु मैदानमा फ्रान्सले काजकस्तानमाथि एकतर्फी जित निकाल्ने क्रममा केलियन एम्बाप्पे, करिब बेन्जेमा, एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले गोल गरे।

    यो जितसँगै फ्रान्स समूह डीबाट एक खेल अगावै छनोट भएको हो। विश्वविजेता फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छ। आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ ।

    फ्रान्सको पार्क डेस प्रिन्सेसमा एम्बाप्पेले पहिलो हाफको ३२ मिनेटभित्रै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। खेलको छैठौं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका एम्बाप्पेले १२औं मिनेट दोस्रो गोल गरे। यस्तै ३२औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

    पहिलो हाफमा ३-० ले अघि रहेको फ्रान्सले दोस्रो हाफमा थप ५ गोल गर्‍यो। ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई ४–० ले अघि बढाए। त्यसको ४ मिनेटपछि बेन्जेमाले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को अग्रतामा पुर्‍याए।

    खेलको ७५औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै फ्रान्सलाई ६-० को अग्रता दिलाउँदा ८४औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फराकिलो अग्रता बनाए। नउले  पेनाल्टीमार्फत गोल गरेका थिए। खेल सकिन ३ मिनेट बाँकी हुँदा एम्बाप्पेले व्यक्तिगत चौथो तथा टोलीको लागि आठौं गोल गर्दै फ्रान्सलाई सानदार जित दिलाए।

    यो जितपछि अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो। पराजित काजकस्तान ३ अंक जोडेर समूहको पुछारमा रह्यो।

    यही समूहको अर्को खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३–१ ले हराउँदै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ।

    यो जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थनमा रहेको छ । बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ। छनोटको अन्तिम खेलमा फिनल्यान्डले फ्रान्ससँग खेल्दैछ। युक्रेनले बोस्नियासँग खेल्दैछ। यो खेलबाट प्ले अफ पुग्ने टोलीको टुंगो लाग्नेछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय