• आज टीट्वान्टी वर्ल्डकपकाे फाइनल भिडन्त

  • काठमाडौँ  – यसपालीको आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि भिडन्तमा अस्‍ट्रेलिया र न्युजिल्यान्ड आइतबार साँझ भिड्दैछन् । यी दुई देश छिमेकी हुन् अनि विश्व क्रिकेटमा प्रतिद्वन्द्वी पनि । अस्‍ट्रेलिया र न्युजिल्यान्डको प्रतिद्वन्द्वीतालाई ‘ट्रान्स टासमन राइभल्री’ पनि भनिन्छ । 

    यी दुई बलिया टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । यस्तो अनुमान गर्नेमा अस्‍ट्रेलियाका कप्तान आरोन फिन्च पनि छन् । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने फिन्चको अनुमान छ । 


    ‘न्युजिल्यान्ड हाम्रा लागि अपरिचित टिम होइन । यसकारण हामीलाई थाहा छ, केन विलियम्सन र उनका साथीहरूले खेलमा अत्यन्तै ठूलो दबाब सिर्जना गर्नेछन् । फेरि उनीहरू बलिङ, ब्याटिङ र फिल्डिङमा उत्तिकै बलिया छन्,’ फिन्चले फाइनल खेलअघि पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘हामी पूरा खेलभरि संयमित हुन जरुरी छ । कप्तान केनको रणनीति झेल्न हामीलाई सजिलो हुने छैन ।’ 

    न्युजिल्यान्ड जुनसुकै ढाँचाको क्रिकेटमा पनि टिकेर खेल्ने भएकाले आफूहरूले धैर्य अपनाउनु पर्ने फिन्चको भनाइ छ । पछिल्ला वर्षहरूमा न्युजिल्यान्डको खेल अत्यन्तै परिस्कृत भएको र यो फाइनलमा कसरी प्रस्तुत हुनुपर्छ भन्ने कुरा न्युजिल्यान्डका खेलाडीहरूलाइ थाहा भएको पनि फिन्चको धारणा थियो । 

    अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो सावित भएको थियो । फिन्चले सो विश्वकपको फाइनल बिर्सेर खेल्नुपर्ने पनि बताएका छन् । 

    ‘यी दुई टिमको स्तरमा फरक छैन । हाम्रो खेल शैली पनि लगभग उस्तै छ । हो, यो विश्वकपमा न्युजिल्यान्डले अन्य टिमको भन्दा राम्रो बलिङ गरेको छ । तर स्पिन बलिङको कुरा गर्ने हो भने हामी न्युजिल्यान्डभन्दा पछाडि छैनौँ । यसकारण पनि म फाइनलका लागि उत्साहित छु । यो खेल रोमाञ्चक हुनेमा शंका छैन,’ फिन्चले भनेका छन् । 

    यसपटक अस्ट्रेलियालाई कमैले उपाधि दाबेदारका रूपमा लिएका थिए । यसको कारण अस्‍ट्रेलियाको विश्वकपअघिको लय पनि हो । अस्‍ट्रेलियाले विश्वकपअघि सरासर पाँच टी–ट्वान्टी श्रृंखला गुमाएको थियो । तर संयुक्त अरब इमिरेट्स (यूएई)मा भने अस्‍ट्रेलियाको प्रदर्शनमा खोट लगाउने ठाउँ छैन ।

    ‘हामीले सन्तुलित खेल देखाएका छौँ । आफ्नो बलियो पक्षको पहिचान गरी त्यसको सदुपयोग गरेका छौँ । यसो नगरे आईसीसीको प्रतियोगिता जित्न मात्र होइन, फाइनल नै पुग्न सकिँदैन । फाइनलसम्मको यात्रा गर्दा हामी गर्व महशुस गरिरहेका छौँ । अब सपना पूरा गर्न हामी एक कदम मात्रै पर छौँ,’ फिन्चले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय