बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए।
घटना दिउँसो साढे दुई बजे भएको हो। मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए।
अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए।
शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ। मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ। उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।