• हुम्लामा १० दिनदेखि हवाइ टिकट नपाउँदा सयौँ विद्यार्थी सदरमुकामै अलपत्र

  • काठमाडौं । सवारीका लागि हवाइजहाजको अर्को विकल्प नभएको हिमाली जिल्ला हुम्लामा दसैँ मनाउन गएका सयौँ विद्यार्थी १० दिनदेखि सदरमुकाममा अलपत्र परेका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट नेपालगञ्ज, सुर्खेत आउने विद्यार्थीहरू टिकट नपाउँदा अलपत्र परेका हुन् । 

    सर्केगाड गाउँपालिका १ जैरका तेजबहादुर रोकायाले १० दिनदेखि हवाइ टिकट नपाउँदा आफूसँग भएको सबै रुपैयाँ सकिन लागेको बताए । “सहरमा विद्यालयहरू सञ्चालन भइसकेका छन् । पढाइ पनि छुटिरहेको छ । १० दिनदेखि सदरमुकाममा टिकट नपाएर होटलमा बस्दा खर्च सकिँदै छ । महङ्गी उत्तिकै छ,” उनले भने ।

    सोही गाउँपालिकाका नन्ददेव कार्कीले १० दिनदेखि टिकट पाएका छैनन् । मंसिर ६ गतेदेखि उनको स्नातकोत्तरको परीक्षा छ ।तर, दैनिक विमानस्थल धाउँदा पनि टिकट नपाएपछि उनलाई परीक्षा नै छुट्ने चिन्ताले पिरोलेको छ । उनी टिकको व्यवस्था मिलाइदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा पनि पुगे ।

    “सीडीओ कार्यालयमा पनि गएको थिएँ । तर, पार लागेन,” नन्ददेवले भने, “कसैले पनि हाम्रो गुनासो सुन्दैन  । अब कहिले पाइने हो टिकट ? परीक्षा दिनप्रतिदिन नजिकिँदैछ । कसरी काठमाडौं जाने ?”

    जिल्ला प्रशासन कार्यालयको सिफारिस र परीक्षा प्रवेशपत्र भएकाहरूले पनि टिकट नपाएको नन्ददेवको भनाइ छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय