• देउवासँग निधिले भने : तपाईंलाई ज्योतिषीले धेरैपटक प्रधानमन्त्री हुन्छ भनेको हो, सभापति होइन

  • काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई उम्मेदवारी नदोहोर्‍याउन आग्रह दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले बिहीबार सरकारी निवास बालुवाटारमा संस्थापन पक्षीय नेताहरूको भेला गरेर सभापतिका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

    भेलामा डाकिएका उपसभापति निधिले भने कार्यकर्ताको मुड बुझेरमात्र अघि बढ्न देउवालाई सचेत गराए । उनले कार्यकर्ताले वरिष्ठ नेता रामचन्द्र पौडेल र शेरबहादुर दुवै आउन नहुने भनिरहेको बताए ।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार बैठकमा निधि-देउवाबीचा ठट्यौली शैलीमा सवालजवाफ चलेको थियो ।

    “१३औँ महाधिवेशनसम्म मैले शेरबहादुरजीलाई सहयोग गरेको हुँ र त्यसबेलाकै सहमतिअनुसार एक वर्षअघि नै मैले शेरबहादुरजीलाई जानकारी पनि गराएको हुँ,” निधिले भने, “अब शेरबहादुरजीकै समर्थनमा म सभापति उम्मेदवार बन्छु । सम्पूर्ण टिमले सहयोग गर्नुपर्छ ।” उनले त्यसो भन्नासाथ देउवाले ‘मेरो सुभकामना छ !’ भनेका थिए ।

    त्यसपछि निधिले खुसी व्यक्त गरेका थिए । “यो त सुखद समाचार भयो । तपाईंले शुभकामना दिएपछि मैले यसलाई समर्थन र सहयोगसहितको शुभकामना बुझेको छ,” निधिले भनेका थिए ।

    त्यसपछि हतारिँदै देउवाले आफ्नो शुभकामना सच्याएका थिए । 

    “मैले शुभकामना भनेको हुँ । तर, अहिलेलाई कहाँ भनेको छु र !,” देउवाले भनेका थिए, “तपाईंलाई १५औँ महाधिवेशनका लागि शुभकामना हो । त्यसबेला हाम्रो टिमको नेता तपाईं नै हो ।” त्यसपछि बैठकमा हाँसो फैलिएको थियो ।

    सबैसँग हाँस्दै निधिले भने देउवालाई कडा जवाफ फर्काएका थिए ।

    “तपाईंलाई ज्योतिषीले पटक-पटक प्रधानमन्त्री हुन्छस् भनेको हो, सभापतिमा  भनेको हैन,” निधिले भनेका थिए, “समयको माग र कार्यकर्ताको मुड हेर्नुस् । मैले धेरै कुरा भनिरहनु नपर्ला । अब तपाईं सभापति उम्मेदवार नबन्नुस् । मलाई समर्थन गर्नुस् ।”

    त्यसपछि देउवाले आफूलाई दोहोर्‍याएर चुनाव लड्न विधानले नरोकेको भन्दै निधिलाई पनि लड्न शुभकामना दिएका थिए ।

    “तपाईं शुभकामना मात्र होइन समर्थन गर्नुस् । जीवनभर सहयोग गरेको साथीलाई सहमति गरेर धोका नदिनुस् म यति नै भन्छु,” भन्दै निधिले बाहिरिने अनुमति मागेका थिए ।

    दिउँसो २ बजे बैठकमा गएका निधि करिब ४५ मिनेट मात्र बसेका थिए । निधि रहँदासम्म बैठक निधि-देउवामै केन्द्रित भएको ती केन्द्रीय सदस्यले बताए । त्यसपछि निधि आफ्नो स्विट्जरल्यान्डका राजदूतसँग भेट्ने पूर्वनिर्धारित कार्यसूची रहेको भन्दै सबैसँग विदा लिएर बाहिरिएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय