• के अब नेपालमा कोरोविरुद्धको खोप सबैले पाउँछन् ?

  • काठमाडौं । सरकारले चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने लक्ष्य लिएको छ । सोही योजना अनुसार खोप आयात र वितरणको योजना बनाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाउँदै आएको छ । के नेपालमा अब सबैका लागि कोभिड–१९ विरुद्धको खोप सहज होला ?

    नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जना नागरिक छन् । यीमध्ये ७४ लाख ६४ हजार ९१४ जनाले दुवै डोज खोप लगाएका छन् भने ८७ लाख ४७ हजार ७१२ जनाले पहिलो डोज लगाएका छन् । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक २३ गतेसम्मको तथ्याङ्क हो । 

    १५ देखि १८ वर्षसम्मका युवाको संख्या १८ लाख ३४ हजार ५९९ छ । यो उमेर समूहका लागि सरकारले फाइजरको खोप दिने तयारी गरेको छ । नेपालमा हाल एस्ट्राजेनेका र भेरोसेल खोपको दुवै डोज खोप दिइँदैछ ।

    कति खोप आयो, कति आउँदैछ ?
    स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाको तथ्याङ्क अनुसार नेपालमा हालसम्म नेपालमा दुई करोड २५ लाख डोज कोभिड–१९ विरुद्धको खोप भित्रिएको छ । यो वर्षभित्र तीन करोड ४२ लाख १२ हजार २०० डोज खोप पाइपलाइनामा रहेको छ । यसमध्ये डिसेम्बरमा ५० लाख डोज सिनोर्फाम, ४० लाख डोज मोर्डना र फाइजर ६० लाख डोज खोप आइपुग्ने शाखाले जनाएको छ ।

    २०२२ को अप्रिलसम्म थप एक करोड पाँच लाख डोज खोप आइपुग्ने शाखा प्रमुख सागर दाहालले जानकारी दिए । सरकारले १२ देखि १७ वर्षसम्मका युवाका लागि ६० लाख डोज फाइजरको खोप खरिदका लागि सम्झौता गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको भनाइ छ । सो खोप ल्याउन सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिइसकेको छ । कोभ्याक्स सुविधामार्फत् आएको एक लाख ६२० डोज फाइजरको खोप यही कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई दिइँदैछ ।

    अबको खोप सबैलाई
    नेपालमा अब कोभिड–१९ विरुद्धको खोप निरन्तर ल्याइने र खोप अभाव नहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले पटक–पटक बताउँदै आएका छन् । १२ वर्षमाथिका सबै नागरिकलाई लगाउन अब खोप पर्याप्त हुने खोप शाखाको दाबी छ ।
    “जोखिम वर्गमा परेका सबै नागरिकलाई खोप दिइसकिएकाले अबको हाम्रो प्राथमिकता खोप लगाउन योग्य सबै नागरिक हुन् । प्रदेशले आफ्नो जनसंख्या र खोप कभरेज हेरेर आफ्नो किसिमले निर्णय गर्न सक्छन् । तर, सबै प्रदेशमा सहज रूपमा केन्द्रबाट खोप पठाइनेछ,” खोप शाखा प्रमुख दाहालले भने । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय