• राष्ट्रिय सभा निर्वाचन माघ दोस्रो साता

  • काठमाडौँ — राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि माघ दोस्रो साताभित्र चुनाव हुने भएको छ । निर्वाचन आयोगले माघ ७ र १० मध्ये एक दिन चुनाव गर्न सुझाव दिएकामा मन्त्रिपरिषद् बैठकले माघ ८ का लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ‘स्थानीय तहका जनप्रतिनिधिसमेत मतदाता भएकाले जनताको सेवा प्रभावित नहोस् भनेर माघ ८ गते शनिबार चुनाव गर्ने कुरो छ,’ ती मन्त्रीले भने ।

    आयोगका पदाधिकारीले कातिक ८ मा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य मन्त्रीहरूसँगको भेटमा फागुन २० मा राष्ट्रिय सभाका १९ सदस्यको म्याद सकिने जानकारी गराएका थिए ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत अर्का एक जनाको पनि त्यही बेला म्याद सकिने भए पनि त्यस ठाउँमा चुनाव गराउनुपर्दैन । राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।

    यही व्यवस्था कार्यान्वयन गर्न सरकारलाई माघ १६ अघि नै चुनाव हुने गरी मिति घोषणा गरिसक्नु बाध्यता छ । संघीय संसद् सचिवालयले आयोगलाई फागुन २० मा मनोनीत एक जना सदस्यसहित २० जनाको पद सकिने जानकारी गराइसकेको छ ।

    सचिवालयका अनुसार अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट अगमप्रसाद बान्तवा राई, जीवन बुढा, महिला समूहबाट कविता बोगटी, उदया शर्मा पौडेल, तारादेवी भट्ट, नैनकला ओझा, शशिकला दाहाल, शान्तिकुमारी अधिकारी, कोमल वलीको म्याद सकिँदै छ ।

    दलित समूहबाट खिमकुमार विक, चक्रप्रसाद स्नेही, राम लखन चमारको पनि कार्यकाल सकिँदै छ । अन्य समूहबाट पद रिक्त हुनेमा दृगनारायण पाण्डेय, ठगेन्द्रप्रकाश पुरी, दीनानाथ शर्मा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, शेरबहादुर कुँवर, सुमनराज प्याकुरेल छन् । संघीय संसद् सचिवालयका अनुसार एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका ४–४ र मनोनीत एक जनाको अवधि सकिन लागेको हो ।

    राष्ट्रिय सभामा मनोनीत तीन जनामध्ये रामनारायण बिडारीको पदावधि सकिँदै छ । प्रदेशगत रूपमा विजयी ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सदस्यको पदावधिका लागि ०७५ असार ४ मा गोलाप्रथा गर्दा उनीहरूको कार्यकाल ४ वर्षमा परेको थियो ।

    राष्ट्रिय सभाको पहिलो कार्यकाल एकतिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष हुन्छ । त्यसपछि निर्वाचित हुने सांसदको कार्यकाल ६ वर्ष हुन्छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सांसदले मतदान गर्छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय