• ‘पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

    यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।

    विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ ।

    सम्पूर्ण पृथ्वीलाई समाना रुपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दुधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

    तराई तथा मधेस क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय