• आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै

  • काठमाडौँ । छठ पर्वको आज बुधबार तेस्रो दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

    आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन् ।

    आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ । त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन् ।

    छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

    छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

    परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।

    यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व अहिले नेपालभर मानाइने गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय