• केपी ओलीसँग भिड्न भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने

  • काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने संकेत गरेका छन् । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन् ।

    “कतिपय साथीहरूले महाधिवेशनमा तपाईं केमा उठ्नुहुन्छ भनेर सोध्नुहुन्छ । मैले तपाईंहरू जेमा उठ्न भन्नुहुन्छ म त्यसैमा उठ्छु भन्ने गरेको छु । तपाईंहरूको पनि केही छ भने भन्नुहोस्,” उनले सम्बोधनका क्रममा भने ।

    त्यसपछि कार्यक्रममा सहभागीहरूले एकै स्वरमा ‘अध्यक्ष’ भनेका थिए । त्यसपछि रावलले ‘प्रस्ताव नै रहेछ’ भन्ने जवाफ फर्काए । 

    चुनावमा हारजित स्वाभाविक भएको भन्दै उनले आफू त्यसलाई स्वीकार्न तयार रहेको बताए । 

    “मैले यत्रो वर्ष काम गरेको छु । जनताको र कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ । त्यो जे गर्दा बलियो हुन्छ म त्यसका लागि कत्ति नहिचकिचाइ उच्च मनोबलका साथ अघि बढ्छु । कतिपयले हार्‍यो भने के गर्ने ? भन्नुहुन्छ । अनि चुनावमा लडेपछि नहार्ने को छर ? केपी ओलीले हरेका थिएनन् र, आठौँ महाधिवेशनमा,” उनले भने ।

    उनले आठौँ महाधिवेशनमा ओली पराजित भएको प्रसंग पनि उल्लेख गरे । उनले आफू र ओली एउटै प्यानलमा हुँदा आफूहरू पराजित भएको स्मरण गरेका थिए । 

    उनले आफू संविधानसभाको चुनावमा हारेको, ओली झापामा हारेको तथा माधव नेपाल काठमाठौंमा हारेको कुरा पनि उल्लेख गरे । उनले हारजितभन्दा पनि देश, जनता, न्याय, समानता, सिद्धान्तका लागि झण्डा बलियोगरी समात्छ कि समात्दैन भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

    “देशका लागि जनताका लागि न्यायका लागि समानताका लागि सिद्धान्तका लागि झण्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने मुख्य कुरा हो । हारजितको कुरा के हो र ? यही ठाउँमा २०४८ सालमा हारेको हो । जिताएर तपाईंहरूले देशको उपप्रधामन्त्रीसम्म बनाइदिनुभयो । प्रतिनिधिसभाको सदस्य बनाइदिनुभयो । त्यसकारण १०औँ राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वाभिमान, भावनालाई झण्डा जसरी बलियो गरी समात्नेछु । हार्ने जित्ने कुराको चिन्ता नलिनुहोस्,’ रावलले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय