• १४औँ महाधिवेशनमा पनि देउवालाई नै कांग्रेस सभापति बनाउनुपर्छ : बालकृष्ण खाँण

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए ।

    प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो । गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए ।

    “यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ,” उनले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उनले बताए । सदनको गतिरोध हटाउन उनले एमालेसँग आग्रह गरे । रासस

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय