• चिसोसँगै बढ्दैछ प्रदुषण, काठमाडौंको तापक्रम माइनसमा पुग्ने अनुमान

  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताए ।

    उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ मा झरेको बताए ।

    उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम –१ डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।

    वरिष्ठ मौसमविद् पौडेलले भने, “यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातिको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता–१० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौँको १६–१७ डिग्रीबाट घट्दै ९ सम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनहरुमा चिसो पनि बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दैर्छौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ, हिजो आजको मौसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौँमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।”

    वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य सहरहरुमा प्रदुषण बढ्न सक्ने बताए ।

    उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायुमण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता सहरहरुमा आगामी दिनमा प्रदुषण बढ्ने बताए ।

    वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने बताए ।

    “यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ, त्यसैले के पनि भनिन्छ भने जाडो याममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने सहरी क्षेत्रमा यस्तो खालको अवस्था हुन सक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउँदै जानुपर्ने हुन्छ,” उनले भने । 

    वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनुपर्ने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय