• अफगानिस्तानको अवस्था ‘नर्क’ जस्तै, खान नपाएर मान्छे मर्न थाले : राष्ट्र संघ

  • काठमाडाैँ । संयुक्त राष्ट्र संघले आइतबार एक चेतावनी जारी गर्दै अफगानिस्तानमा लाखौँ मानिस कठिन भोकमरीसँग जुधिरहेको जनाएको छ।राष्ट्र संघले अफगानिस्ता विश्वकै सबैभन्दा भयानक मानवीय संकटतर्फ अग्रसर रहेको भन्दै चेतावनी जारी गरेको छ।

    संयुक्त राष्ट्र संघले विश्वका कयौँ नेताहरुसँग अफगानिस्तानको यो गम्भीर समस्यासँग जुध्न हरसम्भव प्रयास आवश्यक रहेको बताएको छ।

    विश्व खाद्य कार्यक्रममा प्रमुख डेभिड बिजलीले बीबीसीसँग कुरा गर्दै अफगानिस्तानमा देखिएको अहिलेको अवस्थालाई सबैभन्दा खतरनाक भनेका छन्।

    ‘त्यहाँको अवस्था यति खराब छ कि जति तपाईं हामी कल्पना गर्न सक्छौँ। हामी यस समय अफगानिस्तानमा भयानक मानवीय संकट देख्दैछौँ। ९५ प्रतिशत मानिससँग पर्याप्त खाद्य सामग्री छैन। २३ प्रतिशत मानिस भोकमरीतर्फ बढिरहेका छन्’, उनले भनेका छन्, ‘यिनमा करिब ९० लाख मानिस अनिकालको मार झेलिरहेका छन्। अर्कातिर जाडो बढिरहेको छ। हामीय यस समय सुख्खाबाट निस्किँदैछौँ। यस्तोमा आउने ६ महिना भयंकर खतरनाक हुनेवाला छ। अफगानिस्तान यति बेला हाम्रो संसारमा नारकीय हालतको सामना गर्ने दिशामा गइरहेको छ।’

    बिजलीले विश्वभरका नेता र अर्बपतिसँग अफगानिस्तानमा सहयोगका लाग गुहार लगाएका छन्। 

    ‘विश्वका नेता र अर्बपतिहरु, कल्पना गर्नुस् त तपाईंका सानी छोरी, छोरा र नाति भोकका कारण मृत्युको मुखतर्फ जाँदैछन्। तपाईं आफूसँगका सबै क्षमताको प्रयोग गर्नुहुन्छ’, उनले भनेका छन्, ‘जब विश्वमा चार सय ट्रिलियन डलरको सम्पत्ति छ भने हामीलाई लाज लाग्नुपर्ने हो। यदि कुनै बच्चालाई हामी भोकै मर्न दिन्छौँ भने हामीलाई लाज लाग्नुपर्छ। मलाई ती बच्चा कहाँका हुन् भन्ने कुराको कुनै मतलब छैन तर उनीहरु खान नपाएर मर्नु भएन।’
     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय