• नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

  • काठमाडौं । पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । 

    कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो ।

    शेख जायद क्रिकेट स्टेडियममा नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै क्रिग विलियम्सले ४० रन बनाउँदा स्टेफन बार्डले २९ रन जोडे । 

    बलिङतर्फ पाकिस्तानका लागि हशन अली, इमाद असिम, हरिस राउफ र सादाब खानले समान एक–एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो । 

    पाकिस्तानका लागि बाबरले ७० रनको अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै ४९ बल खेलेका रिजवानले ८ चौका र ४ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय पारी खेले । मोहम्द हाफिजले ३२ रन बनाए ।

    बलिङतर्फ नामिबियाका लागि डेभिड विस र जान फ्रिलिङ्क्सले समान एक–एक विकेट लिए ।

    जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’मा रहेको पाकिस्तानले ४ खेलमा ८ अङ्क जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ । 

    यता नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ । नामिबियाको सेमिफाइनल सम्भावना अझै बाँकी छ । 

    यसै समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय