• पार्टीभित्र मूल्यांकनको समय आयो : वरिष्ठ नेता पोडेल

  • चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्यांकनको समय आएको बताएका छन्।

    नेपाली कांग्रेस रत्ननगर नगरपालिका–१३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज उनले पार्टीको १४ औं महाधिवेशन नेताको मूल्याङ्कनको समय रहेको बताए ।

    उनले भने, ‘पार्टीका लागि कस्ले के गर्‍यो भन्ने विषयमा मूल्याङ्कन १४औं महाधिवेशनले गर्नेछ ।’

    कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो । ‘अहिले पार्टी कहाँ पुग्यो मूल्यांकन गरेर नेतृत्व चयन गर्नुपर्छ’, उनले भने ।

    वरिष्ठ नेता पौडेलले कांग्रेसलाई सुधार गरेर लैजानका लागि महाधिवेशनमा कार्यकर्ताले मूल्यांकन र विवेक पुर्‍याउनुपर्नेमा जोड दिए । अब पार्टी बनाउनका लागि निष्ठा र नैतिकताको राजनीति गर्नुपर्ने उनको भनाइ थियो ।

    वरिष्ठ नेता पौडेलले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र सिद्धान्तका आधारमा आम जनताले हैसियतमा राख्ने गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ता नैतिकवान बन्नुपर्ने बताए ।

    पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्ने समय आएको भन्दै उनले भने, ‘पार्टीभित्र रुपान्तरणको आवश्यकता छ ।

    कांग्रेस उज्यालो अनुहार लिएर अघि बढ्नुपर्छ ।’ कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता रहेको भन्दै उनले न्याय र मूल्यांकनको आधारमा सँगै एजेण्डामा एकता हुन जरुरी रहेको बताए ।

    वरिष्ठ नेता पौडेलले पछिल्लो समयमा लोकतान्त्रिक संस्था कमजोर बनाउने काम भएको बताउँदै संवैधानिक परिषद्को ऐन र सेटिङका कारण अदालतजस्तो संस्था ढल्ने अवस्थामा पुगेकाले अब आँखा चिम्लेर बस्ने समय नरहेको उल्लेख गरे ।

    फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले नेपालमा कम्युनिस्टका कारण समस्या आएको बताए । पाँच वर्ष शासन चलाउ भनेर जनताले अनुमोदित गर्दा पनि नसक्नेले देश चलाउछु भन्नु हास्यास्पद रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीका सबै संरचना चलायमान बन्न नसक्दा कांग्रेस कमजोर भएको बताए ।

    उनले भने, ‘कांग्रेस कमजोर भएको छैन । सुध्रिने र सही बाटोमा हिँड्छ की हिँड्दैन कार्यकर्ताले हेरिरहेका छन् ।’

    नेता पाण्डेले कम्युनिष्ट पार्टीहरु देशको समस्याको रुपमा रहेको भन्दै सभ्य राष्ट्र निर्माण र देशको समुन्नत विकासका लागि कांग्रेस आवश्यक रहेको बताए ।

    १४औं महाधिवेशनबाट कांग्रेस सैद्धान्तिक, राजनीतिक र नैतिकताको बाटोमा हिँड्ने उनको भनाइ थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय