• बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले २२ गते विश्वासको मत लिने

  • हेटाैडा। बागमती प्रदेशसभा बैठक कात्तिक २२ गते बस्ने भएको छ ।

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    सो बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।

    मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

    सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो ।

    मुख्यमन्त्री पाण्डे कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय