• प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  • काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

    बेलायतकाे ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन पुगेका उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।

    स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

    भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्ने वचन दिएका छन्।

    यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए ।

    त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताएको सचिव पौड्यालले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

    सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुगेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय