• कोरोनाबाट मृत्युु हुनेको संख्या ५० लाख नाघ्यो, खोप सबैलाई दिन राष्ट्रसंघको आग्रह

  • विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो । त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।   

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएको छ । उनले भने– विश्वका धनी भनिएका देशहरुले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरुले पूर्ण खोप लिएका छन् ।   

    उनले यो संसारकै लागि लाजमर्दाे अवस्था भएको बताए । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे ।   

    महासचिव गुटेर्रेसले भने – म विश्वका धनी देशहरुलाई यो आग्रह गर्दछु कि खोप यो महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पुर्याउन सकियोस् । उनले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था भएको बताए ।   

    अहिले यो खोप धनी देश र मध्यमबर्गीय देशहरुमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे ।   
    यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय