• प्रदेश १ र गण्डकीका उच्च पहाड र हिमालमा वर्षासँगै हिमपातको सम्भावना

  • काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

    पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना  रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही    स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    “मौसमी प्रणालीमा वर्षा र हिमपातको सम्भावना देखिए पनि यसको सम्भावना निकै कम देखिएको छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “हिमपात र वर्षा भयो भने प्रदेश १ र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भू–भागमा हुने छ ।”

    यसैबीच, आज काठमाडौं उपत्यकाको बिहान ६ बजेको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको छ । यो हिजोको भन्दा कम हो । हिजो बिहान ६ बजे १४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । 

    मौसमविद् नगरकोटीका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय