• सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एसको दाबी

  • काठमाडाैं। सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एकीकृत समाजवादी) सरकारको नेतृत्व दाबी गर्ने भएको छ ।

    आज धनगढीमा भएको पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतमा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग पार्टी नेतृत्व समक्ष गर्ने बताइन्।

    पार्टी विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी कमिटीका पदाधिकारीको कार्यविभाजन गरेको छ ।

    पदाधिकारीको कार्यविभाजनअनुसार संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी र महिला फाँट प्रमुखमा माया भट्टलाई जिम्मेवारी दिइएको छ ।

    कात्तिक महिनाभित्र जिल्ला कमिटी र नगर तथा गाउँ कमिटी गठन तथा विस्तार गरिसक्ने जनाइएको छ । पत्रकार सम्मेलनमा ठूलो दलको हैसियतमा आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग अस्वाभाविक नरहेकाले यो माग पार्टीको नेतृत्वसमक्ष राख्ने निर्णय भएको सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज शाहले जानकारी दिइन् ।

    प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) का १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका सभामुखबाहेक १० सदस्य छन् । यस्तै जनता सामाजवादी पार्टी र नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका एक/एकजना सदस्य छन् ।

    नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा एमालेबाट विभाजन भई गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छ । पार्टी विभाजनसँगै एमालेबाट सरकारमा सहभागी रहेका मन्त्री सरकारबाट बाहिरिएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय