• यूएनएचसीआरको दबाबकाबीच ५ अफगानी निष्काशित

  • काठमाडौं । नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को चर्को दबाबबीच गृह मन्त्रालयले अवैध रूपमा नेपाल प्रवेश गरेका ११ मध्ये ५ अफगानी नागरिकलाई निष्काशन गरेको छ। मन्त्रालयले ती पाँचै जनालाई तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।

    यूएनएचसीआरले ती अफगानीलाई शरण दिनुपर्ने भन्दै कुनै हालतमा निष्काशन नगर्न लबिङ गरेको थियो। तर, आन्तरिक सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै मन्त्रालयले तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई उनीहरूलाई निष्काशन गरेको स्रोतले बताएको छ। उनीहरू आइतबार अपराह्न श्रीलंका गएका छन्। गृहले कात्तिक १० गते उनीहरूलाई निष्काशन गर्ने निर्णय गरेको थियो।

    मन्त्रालयले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निष्काशन गरेको हो। उनीहरू श्रीलंकन एयरबाट कोलम्बो गएको विमानस्थलस्थित सुरक्षा स्रोतले बताएको छ। उनीहरूले बोकेको अफगानी राहदानीमा श्रीलंका र मेक्सिकोको प्रवेशाज्ञा (भिसा) थियो। उनीहरू श्रीलंका नै बस्छन् वा मेक्सिको जान्छन् भन्ने खुलेको छैन। श्रीलंकासम्मको हवाई टिकट पेस गरेपछि मन्त्रालयले ती अफगानीलाई कोलम्बो पठाएको हो। अध्यागमन विभागको ‘स्थानहदमा’ अब ६ अफगानी छन्। मन्त्रालयले उनीहरूलाई के गर्ने भनेर अन्तिम निर्णय गरेको छैन।
    यूएनएचसीआरले पक्राउ परेका ११ जनै अफगानी आफूलाई सुम्पिन मन्त्रालयलाई चर्को दबाब दिएको थियो। मन्त्रालयले यूएनएचसीआरको अनावश्यक दबाबलाई बेवास्ता गर्दै ११ मध्ये ५ जनालाई निष्काशन गर्ने निर्णय गरेको हो। निष्काशित भएकाहरू एकै परिवारका हुन्।

    जसमा श्रीमान्–श्रीमती, उनीहरूका दुई छोरी र एक छोरा छन्। यूएनएचसीआरले उनीहरूलाई निष्काशन गर्न नहुने भन्दै चर्को दबाब दिएपछि गृह मन्त्रालय केही दिन ‘पर्ख र हेर’को अवस्थामा थियो। अवैध ढंगले नेपाल प्रवेश गरेका विदेशीलाई निष्काशन नगर्ने हो भने भविष्यमा उनीहरूबाटै मुलुकको आन्तरिक सुरक्षामा खतरा निम्तिन सक्ने आँकलन गर्दै मन्त्रालय उनीहरूलाई निष्काशन गर्नुपर्ने निचोडमा पुगेको थियो।

    ११ जना अफगानी नाका छली अवैध ढंगले भारतीय बाटो हुँदै केही दिनअघि नेपाल प्रवेश गरेका थिए। काठमाडौंको सिनामंगलस्थित एक होटलमा अवैध रूपमा बसिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएको थियो।

    निष्काशित हुने अफगानीहरू

    मोहम्मद स्टानिक्जाई
    नागिफा स्टानिक्जाई
    मिसबा जैनाब स्टानिक्जाई
    नुरुलआया स्टानिक्जाई
    मोहम्मद रयान स्टानिक्जाई

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय