• गठबन्धन सरकार जनताप्रति उत्तरदायी छ : अर्थमन्त्री शर्मा

  • अर्थमन्त्री एवं नेकपा माओवादीका नेता जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन्।

    हेटौंडामा आज आयोजित वाइसिएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायित्व बहन गर्दै जनताको हित हुने काम गरिरहेको छ ।’

    उनले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तिले थप जटिलता दिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए।

    हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेती नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानको जीविकामा जटिलता थपिएको उल्लेख गरे ।

    मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयकमार्फत युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्दामा थोरै भए पनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताए।

    प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका कृषकको पीडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकलाई राहत उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय