• नेपाल अन्तिम खेलमा लेबनानसँग ४–० ले पराजित

  • एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।

    ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक/एक गोल गरे ।

    खेलको २६औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाए । खेलको ४७औं मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २–० को अग्रता दिलाए ।

    खेलको ७४औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८२औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को जित दिलाए ।

    प्रतियोगितामा नेपाल जितविहीन रह्यो । समूह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।

    यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अंक नै रहेको इरान दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीचको खेल आजै हुनेछ ।

    यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

    उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय