• लुम्बिनीको मौलिक पहिचान विश्वसामु प्रस्तुत गर्नुपर्छ : राष्ट्रपति भण्डारी

  • राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएकी छन्

    उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजार गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताइन् ।

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई स्वभाविक रुपमा लिएर काम अघि बढाउनुपर्ने बताइन् ।

    “यहाँ योग र ध्यान जस्ता साधाना तथा खोज र अनुसन्धान गर्नसक्ने परिवेशसहितको बुद्ध संस्कृतिसँग जोडिएका स्तुप र आकर्षक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्य दिनुपर्छ”, उनले भनिन् । यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने बताउँदै उहाँले यसले गर्दा स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने उल्लेख गरिन् ।

    राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रुपमा विकास गर्न दृढ सङ्कल्प लिनुुपर्ने बताइन् ।

    लुम्बिनी क्षेत्रमा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले यसको निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनले बताइन् ।

    विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताइन् ।

    देश समुन्नतिको दिशामा अगाडि बढिरहेको अवस्थामा विकासको महाअभियानलाई सार्थक तुल्याउन अग्रसर बन्नुपर्ने उल्लेख गर्दै उनले यहाँको भौतिक पूर्वाधारको विकासले यहाँका जनताको जीवनस्तर उकास्न सहयोग पुर्याउने बताइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय